बलिउड बजार : साना हिट, खान फ्लप
२०१८ मा साना बलिउड फिल्मले बाजी मारे । ठूला र आश गरेका फिल्मले समिक्षक र दर्शकलाई निराश बनायो । तर कल्पना सम्म नगरेको फिल्मले बक्स अफिसमा तहल्का मच्याए ।
बक्स अफिसमा विक्की कौशल, आयुष्मान खुराना, राधिका आप्टे जस्ता कलाकारको फिल्म सफल बनाए । बलिउडमा यो वर्ष सानो बजेटमा निर्माण भएका फिल्मले सफलता हासिल गरेका छन् । बलिउडमा ‘छोटा प्याकेज बडा धमाका’ सावित भयो । बधाई हो, राजी, अन्धाधुन, स्त्री, सन्जु फिल्म दर्शक र समीक्षक दुवैको मन जित्न सफल भएका छन् । सानो बजेटमा बनेको फिल्म ‘बधाई हो’ले शानदार प्रर्दशन गर्याे । यो फिल्मले बक्स अफिसमा भारु.१३५ करोडको कमाइ गरेको छ । स्त्रीले लगभग भारु.१२५ करोड जम्मा गरेको छ । अन्धाधुनले भारु.७३.५ करोड, राजीले भारु.१२२ करोड कमाइका साथ बक्स अफिसमा कमाल गरेका छन् ।
यो वर्ष तीन खानको फिल्म बक्स अफिसमा चिप्लियो । आयुष्मान खुराना, विक्की कैशलको सामु बलिउडका खान फिक्का भएका छन् । सलमान खानको फिल्म ‘रेस ३’ दर्शक जित्न सफल भएन । आमिर खान र अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को पनि त्यस्तै हाल भयो । भारु.३ सय करोड भन्दा बढि बजेटमा बनेको फिल्मले बक्स अफिसमा भारु.१५० करोड मात्र जम्मा गर्याे ।
शाहरुख खानको फिल्म ‘जिरो’ गत शुक्रबार देखि प्रर्दशनमा आएको छ । तर यो फिल्मले पनि दर्शकको मन जित्न सकेको छैन । बक्स अफिस रिपार्ट निकै कमजोर छ । यसर्थ २०१८ साना हिट र खान फ्लप बर्ष सावित भएको छ ।