अजय देवगणले पनि बायोपिक गर्दै
रमाइलो छ, काठमाडौँ – पछिल्लो समय बलिउडमा बायोपिकको बाढी नै आइरहेको छ । र, बक्सअफिसमा पनि मनग्य आम्दानी गरिरहेका छन् । यसबीच अभिनेता अजय देवगणले पनि बायोपिकमा अभिनय गर्ने भएका छन् ।
अमित शर्माले निर्देशन गर्ने फुटबल सम्वन्धि फिल्ममा अजय फाइनल भएका हुन् । शर्माको पछिल्लो फिल्म ‘बधाई हो’ बक्सअफिसमा सुपरहिट भएको थियो । सन् १९५१ देखि १९६२ सम्मको भारतीय फुटबलको स्वर्णिम कालमा आधारित रहेर बन्ने फिल्ममा अजयले सैयद अब्दुल रहिमको भूमिका निर्वाह गर्नेछन् । सैयद त्यस समयका राष्ट्रिय टिमका फुटबल कोच र म्यानेजर थिए ।
निर्देशक शर्माको अनुसार फिल्मको सुटिङ जूनदेखि सुरु हुनेछ । उनले भने, ‘दर्शक आजकल यस्तो फिल्म निकै रुचाइरहेका छन् । सफल फिल्मको कुनै परिभाषा हुँदैन । सफल व्यक्तिले आफ्नो सफलता कन्ट्रोलमा राख्नपर्छ ।’