‘छोरा बुझ्ने भएपछि तिम्रो बाउ छैन भन्छु’: एकता कपूर
टिभी क्वीन एकता कपूर छोराकी आमा हुन् । तर उनले विवाह गरेकी छैनन् । उनले सरोगेसीबाट बच्चा लिएकी हुन् ।
हालै एकताले एक अन्तवार्तामा आफ्नो प्रोफेशनल र पर्सनल जिन्दगीको बारेमा खुलेर कुरा राखेकी छिन् । उनको ७ महिनाको एक छोरा छ । उनले आमा हुदाको महसुस बारे बताउदै भनिन्, ‘करिश्मा कपूरसँग मेरो एक नयाँ शो आउँदैछ । यसको नाम मेन्टल ओड राखिएको छ । यो शोमा जब कोही आमा बन्दैछ भने अरु आमाहरुले त्यस समयमा कसरी प्रेशर दिन्छन् भनेर देखाइने छ । म आमा भएपछि पछिल्लो ६ महिनामा यति सल्लाह सुझाव पाएको छु म भन्नै सक्दिन । म परफेक्ट आमा होइन, यो दुनियाँमा केहि पनि परफेक्ट हुँदैनन् ।’
उनले आफ्नो छोरालाई भविष्यमा बाउ नभएको जानकारी गराउने बताउदै भनिन्, ‘मैले छोराको भविष्यको लागि धेरै सोचेको छैन । तर, ऊ बुझ्ने भएपछि तिम्रो बाउ छैन भन्छु । म उसलाई परीको कहानी सुनाउदिन । मलाई थाहा छ म परफेक्ट आमा होइन र म बन्न पनि चाहन्न ।’
एकतासँग हाल १ हजार भन्दा बढि मान्छे काम गरिरहेका छन् । अहिले उनको १४ वटा टिभी शो सञ्चालनमा छ । यसको साथै डिजिटलमा ४२ शो सञ्चालन भईरहेको छ । टिभीको दुनियाँमा राज गर्दा गर्दै उनले फिल्म क्षेत्रमा पनि हात हालेकी छिन् । अहिलेसम्म उनको ३ वटा फिल्म रिलिज भइसकेको छ, भने एउटा रिलिज हुन बाँकी छ ।