‘पहिलो भेटमा ज्याकीसँग डराएको थिए’: मनिषा कोइराला
एजेन्सी – मनिषा कोइराला र ज्याकी श्राफले लामो समयपछि फिल्म ‘प्रस्थानम’मा एक साथ काम गरेका छन् । गत शुक्रबार देखि रिलिज भएको मल्टीस्टारर फिल्मलाई समीक्षकले मिश्रित समीक्षा दिएका छन् । उनीहरुले प्रस्थानम भन्दा पहिला पनि धेरै फिल्ममा काम गरिसकेका छन् ।
मनिषाले फिल्म ‘सौदागर’बाट बलिउडमा प्रवेश गरेकी हुन् । सौदागरमा ज्याकी श्राफ पनि थिए । मनिषा पहिलो फिल्ममै ज्याकी श्राफसँग काम गर्दै थिइन् । यो फिल्म पछि उनीहरु ‘मिलन, १९४२ः ए लभ स्टोरी, कारतूस, लावारिस’ जस्ता फिल्ममा जोडीको रुपमा प्रस्तुत भएका छन् । मनिषाले हालै पहिलो फिल्ममा ज्याकी श्राफसँग काम गर्न डराएको बताउदै भनिन्, ‘म पहिलो भेटमा ‘दादा’सँग डराएको थिए । जब म बलिउडमा आएको थिए, उहाँ ठूलो स्टार हुनुहुन्थ्यो । उहाँसँग काम गर्न पर्छ भन्दा म निकै नर्भस भएको थिए । तर त्यो समयमा हाम्रो निकै राम्रो मित्रता भयो । अब ज्याकीको कुरा आयो भने म रिल्याक्स फील गर्छु ।’
संजय दत्तकी पत्नी मान्यता दत्तको प्रोडक्शनमा बनेको फिल्ममा संजय दत्तले बाहुबली नेताको भुमिका निभाएका छन् । देव कत्ताले निर्देशन गरेको फिल्ममा मनिषा, ज्याकी, संजयसँगै चंकी पाण्डे, अली फजाल लगायत कलाकारको अभिनय रहेको छ ।