मोदीसँग भेटेपछि उत्साहित बलिउड कलाकार
महात्मा गान्धीको १५० औं वर्षगाँठोमा लोक कल्याण मार्गस्थित पीएम निवासमा एक भव्य कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बलिउड कलाकार आमिर खान, शाहरुख खान, सोनम कपूर, ज्याकी श्राफ, ज्याकलीन फर्नाडीज र कंगना रनावत लगायत कलाकारको बाक्लो उपस्थित थियो ।
भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड कलाकारलाई सम्मान दिएको भन्दै सामाजिक सञ्जालमा तारिफ भईरहेको छ । बलिउड कलाकार पनि निकै उत्साहित हुदै तस्बिर सार्वजनिक गरिरहेका छन् । नायिका कंगना रनावतले पीएमओ इन्डिया अफिसियल ट्विटर अकाउन्टमा बलिउड कलाकारलाई सम्मान दिएको भन्दै पीएम मोदीको तारिफ गरेकी छिन् । उनले भनेकी छिन्, ‘प्रधानमन्त्री मोदी आर्ट, आर्टिस्ट र फिल्म इन्डस्ट्रीलाई साथ लिएर अगाडी बढ्न चाहनुहुन्छ । अहिले सम्म कुनै प्रधानमन्त्रीले बलिउडलाई यति सम्मान दिएका छैनन् । म दिल देखि पुरै इन्डस्ट्रीको तर्फबाट पीएम मोदीलाई धन्यवाद भन्न चाहन्छु ।’
उनले थप्दै भनिन्, ‘उहाँले महात्मा गान्धीको विचार र मान्यतालाई बढुवा दिनको लागि आग्रह गर्नु भएको छ । उहाँको आग्रहलाई हामी सबैले लागु गरौं भन्दै प्रधानमन्त्री मोदीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’
त्यस्तै, शाहरुख खानले नरेन्द्र मोदीलाई धन्यवाद दिर्दै टुविट गरेका छन्, ‘नरेन्द्र मोदीको नेतृत्वमा निकै राम्रो विषयमा छलफल भयो । कलाकारले चेतना फैलाउन खेल्न सक्ने भुमिका साथै फिल्म विश्वविद्यायलय खोल्ने विचार एकदमै उपयुक्त छ । पीएम मोदीलाई धेरै धेरै धन्यवाद !’