‘इन्डियन आइडल’बाट फेरि बाहिरिए अनु मलिक
एजेन्सी – गायक तथा संगीतकार अनु मलिक फेरि एक पटक गायन रियालिटी शो ‘इन्डियन आइडल’बाट बाहिरिएका छन् । उनी माथि मिटु मोमेन्ट मार्फत यौन दुर्व्यवहारको आरोप लागेको थियो । यसै कारण पहिला पनि इन्डियन आइडल १० बाट निकालिएका थिए ।
इन्डियन आइडल १० बाट निकालिएका मलिक सिजन ११ मा भित्रिए । मलिक शोको जज बनेपछि गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन दुर्व्यवहारको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।
यसको चौतफी विरोध भएपछि मलिक आफैले शो छाड्ने निर्णय गरेका हुन् । तर उनको राजीनामा च्यानलले स्विकार गरेको छ छैन भन्ने कुरा सार्वजनिक भएको छैन ।
नेहा भसीन तथा श्वेता पण्डित लगायतले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए ।