रानू मन्डलको बारेमा सोध्दा हिमेशले भने, ‘म म्यानेजर होइन’
एजेन्सी – राता–रात रेल्वे स्टेसनमा ‘प्यारका नग्मा बोल’को गीत गाएर हिट भएकी रानू मन्डल पछिल्लो समय ट्रोलमा छाउने गरेकी छिन् । उनलाई गायक हिमेश रेशमियाले ‘ह्याप्पी हार्डी एन्ड हीर’ फिल्मको ‘तेरी मेरी कहानी’ गीत गाउने अवसर दिएपनि रानूको लागि चुनौति कम भएको छैन । रानूले फ्यानलाई सेल्फी खिच्न नमानेपछि र उनको मेकअपको कारण लामो समय चर्चामा रहिन् ।
लगातार ट्रोलमा छाइरहेकी रानूले एक स्टेज कार्यक्रममा आफुले फिल्ममा गाएको गीत नै भुलिन् । अब हिमेश रेशमिया आफैं पनि रानू मण्डलका कारण चिन्तामा देखिन्छन् । हालै मुम्बईमा भएको एक कार्यक्रममा हिमेशसँग रानू मन्डलको विषयमा प्रश्न सोध्दा उनले आफू रानूको म्यानेजर नभएको बताए ।
हिमेश रेशमियालाई तपाई रानू मन्डललाई पुनः गीत गाउने मौका दिनुहुन्छ भनेर प्रश्न सोध्दा उनले भने, ‘म रानू मन्डलका लागि अन्य संगीतकारसँग पनि कुरा गर्नेछु किनभने उनको आवाज निकै सुरिलो छ ।’