‘दीपिका भारत टुक्राउन चाहनेको समर्थन गर्दैछिन्’: मन्त्री इसानी
एजेन्सी –बलिउड नायिका दीपिका पादुकोण दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसाको विरोधमा उत्रिएसँगै विवादमा फसेकी छिन् । उनलाई बलिउडका धेरै कलाकारले समर्थन पनि गरिरहेका छन् ।
हालै भारतको केन्द्रिय मन्त्री स्मृती इरानीले नायिका दीपिकामाथि देशको विरोध गर्नेलाई समर्थन गरेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘दीपिकाले सन् २०११ मा नै बताइसकेकी थिइन् कि उनी कांग्रेस पार्टीको समर्थन गर्छिन् । मलाई लाग्छ जसले समाचार पढ्छन्, उनीहरुलाई थाहा छ कि दीपिका कसको पक्षमा उभिन्छिन् । उनीहरुलाई यो पनि थाहा छ कि, ती मानिसहरु सीआरपीएफका जवान मर्दा खुशी मनाउँछन् । यो एकदमै हैरानीको कुरा हो उनी त्यस्तो व्यक्तिको सर्मथनमा उभिएकी छिन् । जसले भारतलाई टुक्राउन चाहन्छन् ।’
स्मृतीले थप्दै भनिन्, ‘दीपिका महिला विचारधारलाई असर्मथन गर्ने व्यक्तिको सर्मथनमा उत्रिएकी छिन् । कसको सर्मथन गर्ने भनेर दीपिकाको अधिकार छ ।’ दीपिकाले २०११ मा राहुल गान्धीलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहने बताएकी थिइन् । जुन भिडियो अहिले भाइरल भईरहेको छ ।