‘एक्लो’मा प्रदीपसँगै बेलायती अभिनेता जेमी अनुबन्धित
फिल्म ’एक्लो’ मा बेलायती अभिनेता जेमी बेकनको अभिनय गर्ने भएका छन् । फिल्ममा उनको अभिनय रहने तय भएको निर्देशक प्रदीप शाहीले बताएका छन् । बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व लागेको भन्दै उनले सामाजिक सञ्जालमार्फत खुशी समेत सेयर गरेका छन् ।
निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ’एक्लो’ निर्माण गर्न लागिएको हो । साइन्स फिक्सन जनरामा बन्ने फिल्ममा बेकनलाई निर्माताका रूपमा पनि साइन गरिएको जनाइएको छ । यो फिल्ममा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन लगायत अनुबन्धित भैसकेका छन् ।
नेपाली र बेलायती फिल्मबीचको सम्बन्ध निर्माण गर्ने उद्धेश्यले त्यसो गरिएको जनाइएको छ । जेमी बेकन नेटफ्लिक्स शृंखला ’ह्वाइट लाइन्स’ र फिचर फिल्म ’ब्राइटन’ मा रूचाइएका छन् । ’एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए । यसअघि उनले ’गोर्खाः विनिथ द ब्रेभरी’ र ’अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए ।
निर्माता खत्रीका अनुसार छायाँकनका लागी नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भई रहेको छ । फिल्म साउनको अन्तीमबाट छायाँकनमा जाने तयारीमा रहेको छ ।