धिरज उपासना स्टारर ‘खुस्मा’को छायांकन सकियो
अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ’खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरियो ।
प्राप्त जानकारी अनुसार ४० दिनमा फिल्मको एक गीत बाहेकको सबै छायांकन प्याकअप भएको छ । फिल्ममा समावेश एक गीतको छायांकन केही समयपछि गरिने छ । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो ।
फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।