‘पुजार सार्की’क्रेज : मोफसलका दर्शकमाझ आर्यन र अञ्जना
तेश्रो सातामा प्रदर्शनरत फिल्म ’पुजार सार्की’ टिम चितवन र पोखराका विभिन्न हल भ्रमणमा निस्किएका छन् । शनिवार बिहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल सहितको टिम चितवन पुगेको हो ।
चितवन खैरहनी नगरपालिकाको पर्सा बजारमा रहेको म्याङ्गो जनज्योति सिनेमा हल, नारायणगढको इन्द्रदेव सिनेमा, क्यूएफएक्स जलमा र भरतपुरको सिजि मलस्थित सिनेप्लेक्स (क्यूएफएक्स) सिनेमा हलमा ’पुजार सार्की’ टिमले दर्शक भेटी साक्षात्कार गरेको छ । यो टिमले आइतबार दिनभर पोखराका हलहरूमा दर्शक भेट्नेछ । पोखराका सबै हलहरूमा रिलिजको सुरुवात देखि नै यस फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ ।
आफ्नै क्षेत्रको कथा र पोखरा नजिक छायाङ्कन भएको कारण पनि पोखरामा दर्शकको चाप रहेको निर्देशक दिनेश राउतले बताए। हलमा पुग्दा चार पटक सम्म ’पुजार सार्की’ हेर्न आएका दर्शक देखेर आफू निकै खुसी भएको अभिनेता सिग्देलले बताए। यस चलचित्रमा ’मैयाँ’को भूमिकामा रहेकी अभिनेत्री अञ्जना बराइलीले हलमा दर्शक भेट्न पाउँदा आफू सधैँ खुसी हुने बताइन् ।
रिलिजको सत्रौँ दिनमा करिब ८० शो सहित चलिरहेको यो फिल्मले शनिवार देशभरका अधिकांश हलहरूमा हाउस फुल व्यापार गरिरहेको वितरक रोहित कट्टेलले बताए । दिनेश राउतको निर्देशन, सुबास भुसालको निर्माण, विकास सुबेदीको लेखन रहेको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ ।