‘पचेडा ट्रेलर’ : ‘कथा भित्रका कथाहरू’ हेर्नुस्
म्युजिक भिडियोका सफल निर्देशक दीपेन्द्र केसीले हाल डकुमेन्ट्री निर्माण तथा निर्देशनमा व्यस्त छन् । ‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलर :
मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताए । ‘कुनै हरर सिनेमाको झल्को दिने भएता पनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने ।
उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन् । उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए । ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पिडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्,‘मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जंगलमै बस्नु रहर होइन ।’
यो डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ । निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह-निर्मातामा बालकृष्ण खड्गी रहेका छन् । वृत्तचित्रको प्रदर्शनी चेपाङ बस्तीसहित अस्ट्रेलिया लगायतका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देवडी प्रोडक्सनले जानकारी दिएको छ ।