शिल्पा मास्के तीजमा ‘देवी’ बनेर आउँदै
फिल्म ‘देवी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । अभिनेत्री शिल्पा मास्केको शिर्ष भूमिका रहेको देवीको प्रदर्शन मिति भदौ २१ अर्थात् तीजलाई घोषणा गरिएको छ ।
फिल्म देवीको सार्वजनिक पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्सले प्रदर्शनमा सघाउने भएको हो । देवी महिला यौनहिंसा विरुद्धको कथावस्तुमा आधारित फिल्म हो । फिल्ममा शिल्पा सँगै गौरव प्रहारी, नाजिर हुसेन लगायत अन्य कलाकारहरुको अभिनय छ । फिल्ममा बरिष्ठ कलाकार टीका पहारीको पनि अभिनय छ ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मस्सँगको सहकार्यमा देवी नेपाल सहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका राईले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथामा व्यावसायिक भन्दा पनि ईमान्दार भएर राम्रो फिल्म बनाउने प्रयास गरेको बताएका छन् ।
रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको संयुक्त निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा छन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । यो फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।