‘ज्वाइँ साब’को सेटमा जितु नेपाललाई ‘कंगारु’ उपहार !
सम्राट बस्नेतको निर्देशनमा बन्ने नयाँ फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । नेपालको यही शनिबार जन्मदिन समेत पर्न गएको थियो । जन्मदिनको पुर्व सन्ध्यामा जितुले ज्वाई साबको सेटमा ‘कंगारु’ उपहार पाएका हुन् ।
जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । उनले भने, ‘फिल्म ज्वाइँ साबको सेटमै आएर हस्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूणर् टिम प्रति आभारी छु ।’ यो फिल्ममा यस अगाडी कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेता अर्पण थापा अनुबन्धित भैसकेका छन् ।
यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । हाल अष्ट्रेलीयामा फिल्मका लागि छायांकन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब हप्तामा नायिका फाईनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलीयाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका क्षेत्रमा गरिने बताए ।
फिल्म ‘कङ्गारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ । ‘‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ, कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं । यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने ।
राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रा.लीको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन् ।