दया र मिरुनाको ‘घरज्वाइँ’ ले दुई दिनमा डेढ करोढ कमायो
फिल्म ‘घरज्वाइँ’ को दुई दिनको व्यापार सार्वजनिक गरिएको छ । निर्माता जनक घर्ती मगरका अनुसार फिल्मले शुक्रबार र शनिबार गरी दुई दिनमा एक करोड ५१ लख ग्रस कलेक्सन गरेको जानकारी गराएका छन् ।
फिल्मले शुक्रबार सुखद् र शनिबार आक्रमक व्यापार गरेको थियो । आइतबार समेत फिल्मले देशैभरका हलहरुमा फिल्मले राम्रो व्यापार गरिरहेको वितरक रोहित कट्टेलले बताएका छन् । आफ्नो पहिलो सोलो लगानी रहेको फिल्मले दर्शकबाट राम्रो साथ पाएपछि आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने जोश मिलेको उनको भनाई छ । फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल लगायत अन्य कलाकारहरुको अभिनय छ ।