धुर्मुस सुन्तलीको अर्को साहस, ‘नमुना नेपाल’ परियोजना
भूकम्प प्रभावित दुई र एक मुसहर गरी तीन बस्ती निर्माण गरिसकेका कलाकारद्वाय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ दम्पत्तीले नमुना नेपाल निर्माणको परियोजना सार्वजनिक गरेका छन् । यस परियोजनामा तीन करोड देशका नागरिकले दुई सय मात्रै सहयोग गरेपनि परियोजनाका लागि अनुमानित पाँच अर्ब बढी हुने धुर्मुसले बताए ।
‘नमुना नेपाल’ अवधारणा बारे जानकारी दिन सोमबार राजधानीमा आयोजित प्रेसमिटमा धुर्मुसले भने, ‘सरकारको लागि पाँच अर्ब ठुलो रकम होइन । सरकारले चाह्यो भने गर्न सक्छ ।’ युरोप घुम्दाको ‘मिनी युरोप’ सम्झंदै धुर्मुसले ‘मिनी नेपाल’ पनि हेर्द नतमस्तक हुने आशा व्यक्त गरे ।
छोरीलाई चौरमा राखेर देश बनाउन लागि परेको कार्यक्रममा सुन्तलीले बताइन् । ‘नमुना नेपाल परियोजना सिंगो नेपाल जोड्ने प्रयास हो’, सुन्तलीले भनिन्, ‘यो देश हाम्रो साझा फूलबारी हो र हुनेछ ।’ अघिल्ला परियोजना जस्तै यस परियोजनालाई पनि शुभ चिन्तकले सहयोग गर्ने धुर्मुस र सुन्तलीले आशा व्यक्त गरे ।
परियोजनाका म्यानेजर अर्जुन न्यौपानले यही सालको साउनदेखि परियोजनाको कार्य सुरु हुने बताए । ‘काठमाण्डौं, भक्तपुर, ललितपुर या काभ्रे मध्ये एक ठाउँमा मिनी नेपाल बन्नेछ’ म्यानेजर न्यौपानेले भने । ‘मिनी नेपाल’ परियोजना चार वर्षमा पूरा गर्ने उनीहरुको लक्ष्य छ ।