‘अञ्जिला’की अभिनेत्री एञ्जिलालाई युरोप यात्राको बिदाई
फिल्म ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४-२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मान सहित बिदाइ गरियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए । पत्रकार सम्मेलनमा चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने जानकारी गराइयो । निर्देशक मिलन चाम्स र एञ्जिला सुब्बा प्रिमियरमा सहभागी हुनेछन् । हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट भइसकेको उल्लेख गर्दै निर्देशक चाम्सले दर्शकहरूको चासो र उत्साहप्रति आभार व्यक्त गरे । “हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट हुनु, यो चलचित्रप्रतिको उत्साहलाई देखाउँछ । ‘अञ्जिला’ले नेपाली चलचित्र र खेलकुदलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ,” चाम्सले भने ।
हङकङपछि चलचित्रको प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिनेछ । फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर चलचित्र एकसाथ प्रदर्शन गरिने समारोहमा बताइयो । प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले एञ्जिलाको सङ्घर्ष र सफलता नेपाली खेलकुद र चलचित्रको लागि प्रेरणादायी भएको बताए । उनले भने, “यो चलचित्रले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पुर्याउनेछ । निर्देशक मिलन चाम्स नेपाली चलचित्रको ‘मेस्सी’ हुनुहुन्छ । प्रतिभाशाली युवाहरूलाई थप उचाइमा पुर्याउन यो चलचित्रले ठूलो भूमिका खेल्नेछ ।”
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले यो चलचित्रलाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन् । उनले भनिन्, “सम्भवतः यो चलचित्र नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो । एञ्जिलाको सङ्घर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ ।”
राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले यो चलचित्रलाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनले भने, “नेपाली फुटबलको पहिलो बायोपिक बनेको सुन्दा गर्व लागेको छ । आशा छ, यो चलचित्रले थप प्रेरणादायी प्रभाव छोड्नेछ ।” उनले युरोपियन लिगमा महिला गोलरक्षकले खेल्ने अवसर पाउनु ठूलो उपलब्धि रहेको समेत उल्लेख गरे ।
‘अञ्जिला’की मुख्य अभिनेत्री एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी रहेको बताइन् । उनले आगामी दिनमा थप सफलता हासिल गर्न सबैको साथ र समर्थनको अपेक्षा गरेको जनाइन् । चलचित्र ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा एञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
नेपाली खेलकुद र चलचित्र दुवै क्षेत्रमा महत्त्वपूणर् योगदान दिने उद्देश्यका साथ निर्माण गरिएको चलचित्र ‘अञ्जिला’मा एञ्जिलाको जीवन कथा रहेता पनि पूणर् बायोपिक भने नभएको निर्देशक चाम्सले बताए । साथै, निर्माता श्रेष्ठले यस चलचित्रको व्यापारबाट प्राप्त रकमबाट एञ्जिलाको लागि काठमाडौंमा घर तयार गरिने बताए । सो घरलाई एञ्जिलाले फुटबल एकेडेमीको रूपमा परिणत गरी सङ्घर्षमा रहेका फुटबल खेल्न चाहनेलाई युवतीहरूलाई सहयोग गर्ने योजना रहेको छ ।