महको ‘सत्रु गते’ शुभ मुर्हत, विरगञ्जदेखि सुटिङ सुरु
मह सञ्चारको प्रस्तुतीमा कलाकार किरण केसीले निर्माण गर्ने फिल्म ‘सत्रु गते’ को शुभ मुर्हत गरिएको छ । सोमबार कमलादीस्थित गणेश मन्दिरमा फिल्म निर्माण युनिटले क्यामेरा पुजा गर्दै ‘सत्रु गते’ को शुभ मुर्हत गरेका हुन् ।
शुभ साईतमा प्रस्तुतकर्ता मह जोडी, निर्देशक प्रदीप भट्टराई, निर्माता किरण केसी, छायाँकार दिर्घ गुरुगं, संगीतकार राजनराज सिवाकोटी, कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा लगायत उपस्थित थिए । उनीहरुले क्यामेरा पुजा गर्दै फिल्म राम्रो होस भन्ने कामना गरे । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले टिम राम्रो भएकाले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरे । नायिका प्रियंका कार्की भने अस्वस्थताका कारण मुर्हतमा उपस्थित हुन सकिनन् ।
‘सत्रु गते’ को यही सातादेखि विरगञ्जबाट छायाँकन सुरु हुनेछ । दुई साताको विरगञ्ज सुटिङपछि बाँकी भाग राजधानीमा हुनेछ । पचास दिनमा सबै सुटिङ सक्ने निर्माण टिमको तालिका छ । डार्क कमेडी फिल्मलाई चैत्र ९ गते प्रदर्शन गर्ने लक्ष्य छ ।