मोफसलमा ‘मिसिङः केटी हराएको सूचना’ अटो प्रोमोशन
फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यकाबाहिर प्रचार प्रसार सुरु भएको छ । देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ अंकित पोस्टर टासेर प्रचारप्रसारको सुरुवात गरिएको हो । यो फिल्म यही कार्तिक ३० गतेबाट रिलिज हुँदैछ ।
निर्माण पक्षका अनुसार दाङ, धनगढी, नेपालगञ्ज, जनकपुर, चितवन, हेटौडा, वीरगञ्ज, विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडजस्ता देशका प्रमुख सहरमा फिल्मको अटो प्रमोसन सुरु गरिएको छ । स्थानीय दर्शकमाझ अटो नियमित पुगिरहने भएर अटोको माध्यमबाट प्रचारप्रसार गरिएको निर्माण पक्षले जनाएको छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कणर्को अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कणर्को कोरियोग्राफी, काजोल कणर्को सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।
फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।