किन भने पल शाहले ‘सबैथोक पैसा होइन’
सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने फिल्म ‘अनुराग’ मा नायक पल शाह अनुबन्धित हुने तयारी हुँदै थियो । तर ‘धमला पत्नीसँग पल शाहले रोमान्स गर्ने’ भन्ने समाचार सार्वजनिक भएको २४ घण्टा नबित्दै पल शाहले ‘अनुराग’ नगर्ने भन्ने समाचार फेरी सार्वजनिक भयो । आखिर किन त ?
‘मलाई टिम नै चित्त बुझेन’, फिल्म ‘सत्रु गते’को शुभमुर्हतमा भेटिएका पलले भने, ‘अर्को कुरा स्क्रिप्ट राम्रो हो तर त्यो स्क्रिप्ट अनुसारको फिल्म बन्छ भन्ने मै म ढुक्क भइँन् । त्यसकारण पनि अनुराग बाट बाहिरिएँ ।’ कतै पारिश्रमिकमा त चित्त नबुझेर होइन ? पलले भने, ‘पारिश्रमिक त मैंले भने जति नै पाएको हो । तर सबैथोक पैसा मात्रै पनि त होइन नि !’ स्क्रिप्टमा भएको कुरा स्क्रिनमा नआउने डरले ‘अनुराग’ नखेलेको कुरामा उनले जोड दिए । यता पल बाहिरिएपछि ‘अनुराग’ मा नयाँ नायक भित्रिएका छन् । फिल्मलाई सत्यराज चौंलागाईंले निर्देशन गर्ने जिम्मा लिएका छन् । सुरुमा फिल्म बनाउने घोषणा गर्दा मोडल दिपक घिमिरे नायकको रुपमा थिए ।