‘बलात्कारको घटनाले पुरुष भएकोमा लाज लागेको छ’: हसनराजा
नायक हसनराजा खानले नेपालमा पछिल्लो समय बढेको बलात्कारको घटनाबारे युट्युवमा भिडियो बनाएर यो विषयमा कुराकानी गरेका छन् । यस विषयमा कलाकारहरुले आवाज उठाइरहेका छन् ।
दुबइमा रहेका हसनले ‘साहास नेपालीको’ नामक युटुब च्यानल संचालन गरिरहेका छन् । सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको बिषयमा आवाज उठाउने बताए ।
हसनले नेपालमा बढ्दै गएको बलात्कारको बिषयमा आफ्नो भनाई राख्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताए । उनले भने–‘२ महिना, ६ महिना, २ वर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौ । आज मलाई यी घटनाले पुरुष भएकोमा लाज लागेको छ ।’
हसनले आफूमाथि हुने शोषणको विषयमा बोल्न आग्रह गरेका छन् । बलात्कारको घटनाको विषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले बलियो कानुनको आवश्यकता रहेको बताए । उनले, बलात्कारको घटनाका दोषीलाई ७ दिन भित्रमा दण्डित गर्नुपर्ने तर्क राखेका छन् ।
फिल्म ‘अलबिदा, रोमियो’ लगायतका फिल्म निर्माण गरेका हसनले चाडै नै नयाँ फिल्म मार्फत दर्शकमाझ आउने बताए ।