भारतलाई पहिलो अस्कर अवार्ड दिलाउने भानूको निधन
एजेन्सी– भारतको पहिलो अस्कर अवार्ड विजेता एवम् भारतीय फिल्म क्षेत्रकी चर्चित कस्ट्युम डिजाइनर भानू अथैयाको ९१ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ट्यूमरका कारण ३ वर्षदेखि थला परेकी भानूको बिहीबार निधन भएको हो ।
भानू अथैयाले सन् १९८२ मा सार्वजनिक भएको फिल्म ‘गान्धी’मा कस्ट्यूम डिजाइन गरेकी थिइन् । उक्त फिल्मका लागि उनले अस्कर अवार्ड पाएकी थिइन् । फिल्मलाई ब्रिटिस निर्देशक रिचर्ड अटेनबोरोले निर्देशन गरेका थिए ।
पचासको दशकमा भारतीय फिल्ममा सक्रिय भानू अथैयाले एक सयभन्दा बढी फिल्मका लागि कस्ट्यूम डिजाइन गरेकी थिइन् । अस्कर बाहेक उनले राष्ट्रिय पुरस्कार पनि पाएकी थिइन् ।