दोश्रो सातामा पनि आक्रमक दिमाख खराब, मोफसलमा निश्चल स्वस्तिमा
निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले दोश्रो सप्ताहान्त समेत आक्रामक व्यापार गर्न सफल भएको छ । फिल्मले अब्बल ‘वर्ड अफ माउथ’ र लगातारको तिहार बिदाको फाइदा उठाएको हो ।
फिल्म ‘दिमाग खराब’ले अकुपेन्सी र शोका आधारमा सलमान खान स्टारर ‘टाइगर ३’ पनि पछि पारेको छ । फिल्मले दोस्रो शनिबार काठमाडौं र उपत्यका बाहिरका हलमा बलिउडभन्दा नेपाली फिल्मको अकुपेन्सी उच्च देखियो । वितरक गोविन्द शाहीले पहिलो साता फिल्मको कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि उक्लिएको जानकारी दिएका छन् । दोस्रो सातामा फिल्मले लगानी सुरक्षित गर्ने वितरक शाहीले विश्वास गरे । रौनक विक्रम कंडेल निर्मित फिल्मको लगानी चार करोड बताइएको छ । फिल्मले आइतबार छठको बिदामा पनि दर्शकलाई आकर्षण गरिरहेको छ ।
सिनेमा आर्ट र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त प्रस्तुती रहेको फिल्म दिमाग खराब मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, दयाहाङ राई, बिजय बराल, सुमन कार्की लगायत अन्य कलाकारहरुको अभिनय छ । आकाश बरालको लेखन रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।
यस्तै निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का शनिबारबाट मोफसल यात्रामा छन् । शनिबार चितवनमा दर्शकलाई भेटेका स्वस्तिमा र निश्चल आइतबार पोखरा पुगेका हुन् ।