पल शाहको ‘मायाबी’ सुट दुई महिनामा सकियो
पल शाह र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको फिल्म मायाबीको छायाँकन सकिएको छ । दिवाकर भट्टराई निर्देशित फिल्मको छायाँकन दुई महिनामा सकिएको हो ।
‘मायाबी’को छायाँकन मुस्ताङ र पोखरा लगायत अन्य केही स्थानमा गरिएको थियो । फिल्मको छायांकन सकिएको अवसरमा निर्माण पक्षले केक काटेर खुशी समेत साट्यो । शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए ।
फिल्म ‘मायाबी’ मा पल शाह र दीपिकाको साथमा सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराईले यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताए ।
फिल्ममा राज कटुवाल र चन्द्र पन्तको संयुक्त लगानी छ । फिल्मको सह-निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।