‘११ः५५’ मा सृष्टि, महेश, एमएस, सागर र करिश्मा
नयाँ फिल्म ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने फिल्म क्राइम, थ्रिलर विधामा निर्माण हुने छ । बिहिबार प्रेसमिट गर्दै निर्माण कम्पनीले निमाणर्को औपचारिक घोषणा गरेको हो ।
फिल्ममा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको फिल्म विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुनेछ । फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । विगत एक दशकदेखि चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेका निर्देशक पाण्डेले बताए ।
‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको चलचित्र सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने,‘यो चलचित्रमा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’
निर्देशक पाण्डेको फिल्म सम्बन्धी स्वः अध्ययनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार एमएस अग्रजले बताए । उनले भने,‘हामी प्रवासमा एक साँझ भेटिंदा फिल्म सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पनि पूणर् रुपमा मनोरन्जनात्मक चलचित्र बन्ने छ ।’
अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन । ‘मैंले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो फिल्म मार्फत हामी पात्रको रुपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्ने छ, भन्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।
अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि चलचित्र प्रतिको अध्यन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता त्रिपाठीले भने ।
यसै फिल्म मार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सागर खनालले चलचित्र सम्बन्धी गरेको अध्यनलाई प्रयोग गर्ने अवसरलाई पूणर् रुपमा सदुपयोग गर्ने बताए । ‘यो मेरो डेब्यु चलचित्र भएता पनि सबैको भूमिका बराबर छ । पहिलो पटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।
फिल्ममा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।
फिल्म ‘११ः५५’ मा ६ जनाको कथा देखाईने छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स-साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति चलचित्रमा देखाईने छ । ३५ दिनको सेड्युल तय भएको फिल्मको छायांकन आउँदो शनिवारबाट सुरु हुनेछ ।