‘गोर्खा वारियर’ हेर्न ललितपुरमा र्याली
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म गोर्खा वारियर हेर्न र्याली निकालिएको छ । ललितपुरको सडकमा बाजागाजा र नारा लगाउँदै फिल्म युनिटले प्रदर्शन गरेका हुन् ।
किराँत राई यायोख्याको नेतृत्वमा गोर्खा लाहुरेको परिवार, भर्ती हुन तालिम लिइरहेका युवाहरु उनीहरु आफन्त लगायत सहभागी र्याली कुमारीपाटीदेखि लबिम मलसम्म पुगेको थियो । ब्यानर बोकेका उनीहरुले गोर्खाली कहिल्यै झुक्दैन, आयो गोर्खाली, गोर्खाली कहिल्यै भाग्दैन लगायतका नारा लगाएका थिए ।
उनीहरुले हलमा पुगेर ‘गोर्खा वारियार’ फिल्म हेर्न आग्रह गरेका थिए । फिल्मको पोस्टर र ब्यानर समेत देखिन्थ्यो । उनीहरुले लबिम मलको फिल्म हलमा पुगेर शुक्रबारदेखि रिलिज भएको फिल्म ‘गोर्खा वारिअर’ हेरे ।
मिलन चाम्स निर्देशित यो फिल्मले सन् १९४९ मा मलाया युद्धमा बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको लडाइँको कथा पेश गर्छ ।
फिल्मका प्रमुख पात्र रितेश चाम्स स्वयं समेत ब्रिटिस गोर्खा सेनामा कार्यरत छन् । रेविका गुरुङ र विजय लामाको पनि यसमा शीर्ष भूमिका छ ।