‘सतीदेवी’ प्रति संचारमन्त्री शर्माको किन देखाइन् चासो ?
संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले फिल्म ‘सतीदेवी’ प्रति चासो देखाएकी छन् । मन्त्री शर्माले नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक फिल्म निर्माणमा जोड दिनुपर्ने बताएकी हुन् ।
मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष, सिंहदरवारमा भएको भेटघाटमा नेपाली फिल्मको विकास, विस्तार र श्रीबृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले फिल्म ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।
निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो फिल्मको विषयवस्तुको बारेमा विस्तृतमा ब्याख्या गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ फिल्म बारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त फिल्मलाई राज्यले विशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको समेत निर्देशक सुवेदीको भनाई छ । मन्त्री शर्माले आफु सधैं नेपाली फिल्मको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिदै छिट्टै नै फिल्म ऐन लागू गर्न आफू लागीपरेको बताइन् ।
मन्त्री शर्माले फिल्म अभिव्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको विकास र प्रवद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक फिल्म निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।
संचारमन्त्री शर्माले आफ्नो फिल्मप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लीत र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली फिल्म र फिल्मकर्मीको समुन्नतीका लागि केही गरौं भन्ने भावनायुक्त पाएको बताउँदै मन्त्री शर्माले समग्र फिल्म क्षेत्रको जिम्मेवारीपूणर् अभिभावकत्व बहन गरेको उल्लेख गरेका छन् ।
सञ्चारकर्मी समेत रहेका लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म सतिदेवीमा नायिका मलिका महतले शिर्ष भूमिका निर्वाह गरेकी छन् ।