प्रदीप खड्काको जन्मदिनमा ‘पूजार सार्की’को लुक्स रिलिज
फिल्म पूजा सार्की बाट अभिनेता प्रदीप खड्काको लुक्स सार्वजनिक भएको छ । अभिनेता खड्काको जन्मदिनको अवसर पारेर फिल्मको भूमिकाको पात्र परिचय गराइएको हो ।
निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा फोटो सार्वजनिक गरेका छन् । फोटोमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ ।
निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म ’प्रकाश’मा सहकार्य गरेका थिए । महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोमा छायाङ्कन भइरहेको छ ।
यस फिल्ममा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।