‘अञ्जिला’को पहिलो झलक सार्वजनिक
फिल्म‘अञ्जिला’को पहिलो झलक सार्वजनिक भएको छ । निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै चाँडै नै उपयुक्त रिलिज मिति तय गर्ने बताए । ‘अञ्जिला’ फिल्म महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित छ ।
पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा यो चलचित्रमा रहेको अनुमान गर्न सकिन्छ । अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । यो फिल्ममा अञ्जिला स्वयंको समेत मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहनेछ ।
यो फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस फिल्ममा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् ।