‘रङ्गेली’ हिन्दी भाषामा पनि रिलिज हुने
नेपालमा प्रदर्शनरत फिल्म ’रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ ।
एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा फिल्म वितरण गर्छन् । रङ्गेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको छ छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने खतिवडाले बताए ।
फिल्म ‘रंगेली’ले अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए । त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शनको नजिक छ ।
प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शकको साथ पाइरहेको निर्देशक अर्जुन सुवेदीको दाबी छ । ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।