‘बलिदान’ मा समीर भट्ट अनुबन्धित
फिल्म ‘बलिदान’ को मुख्य भूमिकामा नायक समीर भट्ट अनुबन्धित भएका छन् । आसुसेन फिल्मस्ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै शुक्रबार यस बारे औपचारिक घोषणा गरेको हो । यस अगाडी फिल्ममा अभिनेता सौगात मल्ल लगायत अन्य कलाकारहरु अनुबन्धित भैसकेका छन् ।
समीर नेपाली फिल्म क्षेत्रका एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका छन् । फिल्म का निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए । उसो त समिर पिताको निर्माण तथा निर्देशन रहने फिल्म १२ गाउँमा समेत अनुबन्धित भैसकेका छन् ।
‘‘बलिदान’को कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न भगीरथ प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युग पुरुष जसले, परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस्,’ पात्र छनोटको सङ्घर्ष सम्झदै निर्देशक सेनले बताए, ‘अभिनेताका रूपमा युग पुरुष खोज्नु हामीलाई आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको थियो। बलिदानको युग पुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपुणर् कलाकार चाहिने थियो।’
सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको ’बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भैसकेको छ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूणर् आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।