केकीको ‘बोक्सीको घर’मा प्रकाश सपुत भित्रिए
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । आफ्नो फिल्मलाई अझ सशक्त रुपमा प्रचार गर्नका लागि अभिनेत्री केकीले गायक प्रकाश सपुतसँग मिलेर फिल्मको नयाँ गीत ‘बुझिनँ मैले’ तयार पारेकी छन् ।
गायक प्रकाशकै शब्द र संगीत रहेको गीतमा प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर छ । गीतको हालै मात्र भिडियो छायांकन पनि पुरा भएको छ । गीतको भिडियोमा केकी नै फिचर्ड छिन् । फिल्ममा शीर्ष चरित्र निर्वाह गरेकी केकीलाई भिडियोमा पनि फिल्मकै लुक्समा अभिनय गराइएको छ । भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । ‘फिल्मको टिजर, गीत र बोक्सी लुक्सले दर्शकमा कौतुहलता जगाएको छ । यो गीत अझ सशक्त किसिमको छ’, केकीले भनिन् । गायक तथा अभिनेता प्रकाशले अभिनेत्री केकीसँग फिल्म ‘परदेशी २’ र गीत ‘बदला बरिलै’मा सहकार्य गरिसकेका छन् । यो गीत पनि दर्शकका लागि नयाँ स्वादको हुने दाबी गायक प्रकाशको छ ।
आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । फिल्ममा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । । फिल्म रिलिजको एक महिना समय रहँदा केकी फिल्मको प्रचार प्रसारमा व्यस्त छिन् ।
फिल्मको टिजर र ‘जिन्दगीको कथा’ बोलको गीतले चर्चामा आएको यो फिल्मको हाइप केही समयअघि सार्वजनिक ‘बोक्सी लुक्स’ले बढेको छ । केकी यतिबेला फिल्म प्रचार प्रसारमा व्यस्त छिन् ।