‘पुजार सार्की’को मन छुने गीत ‘जाऊँ माया’ सार्वजनिक
यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ’पुजार सार्की’को तेस्रो गीत ’जाऊँ माया’ सार्वजनिक गरिएको छ । यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ । गीत :
यस्तै मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ । यो गीतले दुःखका भावना व्यक्त गरेको छ । यस गीतमा बि. पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर रहेको छ । हाम्रो समाजका पात्रहरूले भोगिरहेका विभिन्न प्रकृतिका समस्याहरूलाई गीतको रूपमा रचना गर्न खप्पिस पाण्डेले मार्मिक शब्द लेखेका छन् । उनका शब्दलाई सुवास भुसालको सङ्गीत र केतन क्षेत्रीको स्वरले मन छुने बनाएको छ ।
फिलममा दर्शकको रोजाइका तीन स्टारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा परेको छ । ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।
दिनेश राउत निर्देशित फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म ’प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।