बुढासुब्बा मैदानमा ‘बलिदान’को लागि कालीमाताको भव्य मूर्ति
प्रतिक्षित फिल्म ‘बलिदान’ले निर्माणको क्रममा एक अद्वितीय अध्याय थप गरेको छ । फिल्मको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको छ ।
मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहेता पनि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । फिल्मको छायाङ्कन नसकिँदै ‘काली चौर’का रूपमा परिचित यो स्थान चर्चित स्थल बनेको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशकले जनाए । फिल्मका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गरेर भारतको कलकत्तासम्म पहुँच बनाएका कुशल कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको बताए ।
फिल्मका निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’ को छायाङ्कन लगभग पूरा भइसकेको छ । छायाङ्कन सकिएपछि टिजर सहित फिल्मको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने उनले बताए । फिल्मको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।
‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह–निर्माताको भूमिकामा छन् ।
नेपाली समाजको यथार्थ चित्रण, भव्य दृश्य, र प्रविधिको उच्च प्रयोगले ‘बलिदान’लाई फिल्महरूबीच लोकप्रिय बनाउने अपेक्षा गरिएको छ ।