प्रकाश र परिक्षाको ‘सोल्टिनी’ इलामबाट सुटिङ सुरु
फिल्म ’सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा मुहूर्त गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो ।
३१ दिनको तालिका सहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा मुर्हत सट दिए । यो फिल्म इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ ।
यस फिल्ममा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ’भीमसेन पोखरेल’ र लिम्बुले ’दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।
यस फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।
फिल्मको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।
फिल्मलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।