वोर्ड अध्यक्ष सामु आचार संहिता खारेजीको माग
चलचित्र निर्माताहरूको छाता संगठन चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डले करिब दुई वर्षअघि लागू गरेको आचार संहिता खारेजीको माग गरेको छ । संघले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई संघको तर्फबाट ज्ञापन पत्र बुझाउँदै आचार संहिता खारेजीको माग गरेको हो ।
बोर्डले दुई वर्षअघि फिल्म निर्माणलाई नियन्त्रण गर्ने भन्दै निर्माण तथा निर्देशनमा मापदण्डहरू लागू गरेको थियो । सो मापदण्डमा फिल्म निर्देशन गर्न चाहानेले मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनु पर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान थियो ।
त्यसैगरी, निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था थियो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मामदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए । संघले बुधबार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका चलचित्रलाई अनुवृत्ति (सब्सिडिज) आदि विषय पनि समेटिएका छन् ।
संघले बोर्डलाई विदेशी नियोगहरूमा नेपाली फिल्म फेस्टिभल गरी नेपाली फिल्मको प्रवद्र्धन गर्न पनि आग्रह गरेको थियो । संघले बोर्डलाई प्रस्तावित मितिमा हरहालतमा पनि बक्स अफिस लागू गर्न आग्रह गरेको छ । बोर्डले केही दिनअघि मात्र ५ सदस्यीय बक्स अफिस कार्यान्वयन समिति निर्माण गरी आउदो २०७५ बैशाख १ गतेबाट उपत्यका भित्र परिक्षण गरी २०७५ श्रवण १ गतेबाट संचालनमा ल्याइने तथा मोफसलमा २०७५ माघ १ गते सम्ममा संचालनमा ल्याइने प्रतिबद्धता जनाएको थियो ।
त्यसैगरी, सेन्सरका सम्बन्धमा पनि निर्माता र सेन्सर बोर्डबीच थुप्रै असमझारी रहेकाले ती असमझदारी हटाउन बोर्डलाई मध्यस्ता गर्न आग्रह गरेको छ । जवाफमा अध्यक्ष निकिता पौडेलले संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययनपछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।