फागुन १ देखि नै बस्ने भो बक्स अफिस प्राणाली
राजधानीका मल्टीप्लेक्समा फागुन १ गतेबाटै बक्सअफिस प्रणाली लागु हुने भएको छ । बिहिबार चलचित्र विकास वोर्डको कार्यालय, चावाहिलमा अध्यक्ष सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बिहिबार बसेको बैठकले केही साता अघि गरेको निर्णयलाई संशोधन गरेको हो ।
यसअघि बैशाख १ बाट राजधानीका हलहरुमा बक्सअफिस सफ्टवेयर प्रारम्भिक परिक्षण सुरु गर्ने निर्णय गरिएको थियो । ‘पहिलेका केहि निर्णय यथावत राख्दै राजधानीका मल्टीप्लेक्समा फागुन १ गतेबाट यो सिस्टम सुचारु गर्ने निर्णय गरेका हौं’, विकास वोर्ड अध्यक्ष निकिता पौडेलले भनिन् । राजधानी बाहिर पनि माघ १ गते भन्दा अगाडी नै बक्सअफिस प्रणाली लागु हुन सक्ने अध्यक्ष पौडेलले बताइन् ।
हार्डवेयर र नेटवर्किङ जोड्न नसक्ने हलहरुलाई आर्थिक सहायताको लागि संचार मन्त्रालयलाई पत्राचार गर्न बोर्डमा सिफारिस समेत गरिएको छ । यो सिस्टमका लागि भरपर्दो इन्टरनेट प्रदान गर्न नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायकसँग पनि सिफारिस गरिएको अध्यक्ष पौडेलले बताइन् ।