चितवनमा दया र श्वेता, भन्छन्, ‘दर्शकको मन जित्छ’
फागुन ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ प्रचारको लागि निर्माता तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई चितवन आइपुगेका छन् । चितवस्थित भरतपुरमा गरिएको प्रेसमिटमा ‘कान्छी’ले दर्शकलाई रिझाउने श्वेता र दयाले विश्वास दिलाए ।
‘कोहिनूर’पछि फिल्म निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माईत घर रहेको समेत बताइन् । ‘मेरो फिल्मको यात्रा नै चितवनबाट सुरु भएको थियो, त्यसैले म यो ठाउँलाई माईती घर भन्न रुचाउँछु ।’ श्वेताको पहिलो फिल्म ‘कहाँ भेटिएला’को छायाँकन चितवनमा गरिएको थियो । स्व.शिव रेग्मी निर्देशित उक्त फिल्ममा श्वेताको अपोजिटमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । स्व.निर्देशक रेग्मी पत्नी ज्ञानु रेग्मीलाई पनि चितवन आउँदा श्वेताले सम्झिइन् । ‘श्वेताको कान्छी धेरै सफल होस् । यसैगरी हिम्मत गरेर अगाडी बढ्नु’, ज्ञानुले भनिन् ।
यता अभिनेता दयाले फिल्म ‘कान्छी’ समसामयिक कथा वस्तुमा राम्रो फिल्म बनेको बताए । उनले भने, ‘सानो सपना र ठुलो दुःख भोगाइको नै कान्छी हो । तर यही पुरुषवादी सोचको कान्छी होइन, ममतामयी कान्छी हो ।’ आकाश अधिकारी निर्देशित फिल्म युनिटसँग काम गर्दा रमाईलो र सजिलो रहेको अनुभव पनि दयाले सुनाए । याम थापाको स्क्रिप्ट रहेको कान्छीमा श्वेता र दयासँगै वरिष्ठ कलाकार नीर शाह, नायिका अनु शाह, कलाकारहरु कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
राजनराज सिवाकोटीको संगीत रहेको ‘कान्छी’को ‘चरी चट्ट परी’ बोलको गीत हिट भैसकेको छ भने अर्जुन पोखरेलको संगीत रहेको ‘ए कान्छी बोलको गीतले पनि दर्शक तथा श्रोताको मन जितिरहेको छ । फिल्म लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।