पूजा र आकाशको ‘रामकहानी’ कास्कीकोटबाट सुरु
निर्देशक सुदर्शन थापाले फिल्म ‘रामकहानी’को छायाँकन सुरु गरेका छन् । पोखराको माथिल्लो रमणिय डाँडा कास्कीकोटबाट शिवरात्रीदेखि ‘रामकहानी’ को क्यामेरा अन गरिएको हो । छायाँकनको पहिलो दिन नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले टेक दिए ।
कास्कीकोट उक्लिनु पुर्व सुदर्शन, पूजा, आकाश, राजाराम, केदार घिमिरे ‘माग्ने बुढा’ले विन्दावासिनी मन्दिरमा बिहान पुजाआजा गरेका थिए । कास्कीकोटमा करिब दुई साता छायाँकन गरिने निर्माता समेत रहेका थापाले बताए । ‘बाँकी सुट चाहिं हामी काठमाण्डूमै गर्छौं’, थापाले भने । भदौ २२ गते तीजको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको फिल्मको ४५ दिनमा छायाँकन सक्ने टिमको लक्ष्य छ ।
सुदर्शन र पुजाको संयुक्त लगानीमा बनिरहेको ‘रामकहानी’मा पुजा र आकाशको जोडी पहिलो प्रस्तुत हुँदैछ । ‘हाम्रो जोडीलाई दर्शकले रुचाउनु हुन्छ भन्ने विश्वास छ’, दुवैले भने । फिल्ममा माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाको पनि मुख्य भूमिका रहेको छ । फिल्मका लागि माग्नेले लिएको दश लाख रुपैयाँ पारिश्रमिकको खुबै चर्चा भएको थियो ।
अर्जुन पोखरेलको संगीत रहने ‘रामकहानी’मा सौरभ लामाको छायाँकन छ । प्रोडक्सन सुरज आचार्यले सम्हालेका छन् । लभ स्टोरी जनरामा जमेका निर्देशक थापा हाँस्य व्यांग्य क्षेत्रका स्थापित कलाकारहरुलाई पनि लिएर कमेडी जनराको फिल्म निर्माणमा पहिलो पटक उत्रिएका हुन् । सुदर्शन र पुजाले यसअघि ‘म यस्तो गीत गाउँछु’ बनाएका थिए, जुन सफल भयो।