‘नाकाको सत्य घटना नाकामा’ : निर्देशक अमित श्रेष्ठ
टिजर रिलिजसँगै चर्चामा रहेको फिल्म ‘नाका’ यो शुक्रबार (फागुन १८ गते) देखि प्रदर्शनमा आउँदैछ । अभिनेता बिपिन कार्कीको मुख्य भूमिका रहेको फिल्मलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठका अनुसार ‘नाका’ रियल स्टोरी वेस फिल्म हो ।
‘म जन्मिएको सिन्धुपाल्चोक जिल्लामा जोडिएका बाह्रबिसे र तातोपानी नाकामा हुने गरेका वास्तविक घटनालाई नाकामा उतारेको छु’, निर्देशक श्रेष्ठ भन्छन्, ‘सानैदेखि देख्दै र भोग्दै आएका घटना रमाईला र मन छुने छन् ।’ विशेषतः तिब्बतबाट शरण लिन नेपाल छिर्ने तिब्बतीले भोग्दै आइरहेको पिडा र नाकाका नेपाली डनहरुको गतिविधिलाई ‘नाका’मा उतारिएको निर्देशक श्रेष्ठ बताउँछन् ।
‘सम्भवतः बिपिन दाई पहिलो पटक यस्तो भूमिकामा प्रस्तुत भएको हुनुपर्दछ’, अभिनेता कार्कीको भूमिका बारे अमितको भनाई छ, ‘उहाँलाई नाकाको डनको रुपमा खतरनाक नै देखिएको छ ।’ यसअघि ‘पात बाजा,’ ‘कल्चर हेरिटेजेज अफ बाह्रबिसे बजार’ र ‘तेरेमी’ जस्ता डकुमेन्ट्री बनाएका अमित नाकालाई दर्शकले गाली नगर्नेमा ढुक्क छन् । फिल्म हेरेर दर्शक निराश चाहिं हुने छैनन्, निर्देशक श्रेष्ठ भन्छन् । प्रोमो हेर्नुस :
हाईलाइट्स नेपालसँगको सहकार्यमा मिडिया पोर्टको प्रस्तुती रहेको ‘नाका’ मा बिपिन कार्कीसँगै थिन्ले लहमो, रोविन तामांग, शिव मुखिया, प्रकाश गन्धर्व, सुजन थापामगर लगायत कलाकारहरुको अभिनय रहेको छ । निर्देशक श्रेष्ठको कथा रहेको फिल्मको स्क्रिप्ट भने अभिषेक सुवेदीले लेखेका हुन् ।