‘भोर’मा दाइजोको पिडा : पोस्टर रिलिज
तराई भेगमा विद्यमान दाइजो प्रथाको यथार्थ कथालाई उतारिएको फिल्म ’भोर’ को पहिलो पोस्टर रिलिज गरिएको छ । आगामी बैशाख २१ बाट फिल्म प्रदर्शन गर्ने गरी भोर को पोस्टर सार्वजनिक गएिको हो । यसअघि फिल्म ’झोला’ निर्माण गरेर प्रशंसा पाएको टिमले ’भोर’ बनाएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र डली सरकार बेहुलीको भेषमा प्रस्तुत छन् भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ । उनी सँगसँगै एक वृद्धले उनै डलीलाई साईकलमा हिडाउँदै गरेको समेत देखाईएको छ ।दक्षिण एसिया भरी नै २१ औं शताब्दीसम्म आउँदासम्म व्याप्त दाइजो प्रथा हिंसा र मानविय अपराध दुबै रहेको भन्दै यसलाई समाजबाट निर्मुल पार्ने महाअभियानको थालनीको रुपमा ‘भोर’ लिएर आउन लागेको निर्देशक यादवकुमार बताए । देवता समान श्रीमती र बुहारीलाई घरमा भित्रयाउँदै गर्दा उक्त परिवारका सदस्यले आफ्नो छोरी पनि अर्काको घरमा जाँदा के भोग्छ भन्ने हेक्का नराखी दाइजोको नाममा गर्ने दमन र चरम हिंसा समग्र देशकै समस्या भन्दै त्यसैको पेरीफेरी वरीपरी ’भोर’ घुमेको भट्टराईको तर्क छ ।
कृष्ण धाराबासीको लेखनमा तयार भएको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु लिड अभिनयमा छन् । फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । फिल्ममा किसन अर्यालको मुख्य सहायक निर्देशन छ । दिपक बज्राचार्यले छायाँकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् । निर्माता तिमल्सिनाले एक बर्ष लामो मेहनतका बीच फिल्म तयार भएको भन्दै दर्शकमा परेको ’झोला’ फिल्मको इमोशनलाई नै ’भोर’ले निरन्तर दिने दाबी गरे ।