मन छुने ‘मंगलम’, छवि ब्यानरको उत्कृष्ट फिल्म
‘जीवनमा पहिलो पटक फिल्म हेरेर रोएँ’, ‘हिम्तवाली’ नायिकाको रुपमा चिनिएकी रेखा थापाले फिल्म ‘मंगलम’ हेरेपछि प्रतिक्रिया दिइन्, ‘मलाई फिल्मको हरेक पक्षले छोयो । प्रत्येक परिवार, श्रीमान-श्रीमती र प्रेमि-प्रेमिकाले हेर्नुपर्ने फिल्म मंगलम बनेको छ’, रेखाले भनिन् । भिडियो हेर्नुस् :
‘मंगलम’ हेरेर रेखा मात्रै होइन, बिग मुभिज फिल्म हलमा उपस्थित सबै दर्शक रोए । धेरैको मन रोयो, केहीको आँखा । फिल्म सकिएको लामो समयसम्म पनि एक महिला सञ्चारकर्मी रोएर हलमै बसिन् । ‘कस्तो मन छोयो’, हुँक्क हुक्क गर्दै ती सञ्चारकर्मीले भनिन् । ‘मैंले स्क्रिप्ट सुनाउँदै बा (निर्माता छवि ओझा) रुनु भएको थियो’, ‘मंगलम’का निर्देशक नवल नेपालले भने, ‘अहिले दर्शक रोइरहनु भएको छ । हाम्रो काममा हामी सफल भयौं जस्तो लाग्छ ।’
‘म त आज पनि रोएँ’, नायिका शिल्पा पोखरेलले सुनाइन्, ‘अब उहाँले (रेखा थापा) तारिफ गर्नु भनेको एकदम ठुलो कुरा हो । हामीले सबैको मन जित्यौं भन्ने लाग्छ ।’ ‘मंगलम’मा सशक्त अभिनय गरेर सबैको मन जितेका नायक पुष्प खड्का सबैबाट पाएको प्रशंसाले दंग छन् । ‘कथा धेरै भेटिन्छन् । तर कथा भित्रका व्यथालाई प्रस्तुत गर्न कमै सफल हुन्छन् जस्तो लाग्छ’, पुष्प भन्छन्, ‘फिल्म हेरिरहंदा कसैले आफ्नो आँखाबाट आँसु रोक्न सक्नु भएको छैन । यही नै हाम्रो सफलता हो ।’
नायक पृथ्वीराज प्रसाईंले पनि फिल्मबाट तारिफ पाइरहेका छन् । अभिनेत्री मिथिला शर्माले अब्बल अभिनय गरेकी छन् । अभिनेता नीर शाह आफ्नो भूमिकामा फिट छन् ।सिनेम्याटोग्राफर विष्णु कल्पितले राम्रो खिचेका छन् । दिपक शर्माको संगीत रहेको ‘पर्ख पर्ख मायालु’ हिट छ । पुरानो धारलाई छोड्न नसकेको आरोप खेप्दै आएका निर्माता छविराज ओझा ‘मंगलम’ बाट मल्टीप्लेक्समा पनि आफु भित्रिएको बताउँछन् ।
‘म लोफरबाट मल्टिप्लेक्समा छिर्ने कोशिस गरेको थिएँ । छिरें पनि तर सफल भइँन’, फिल्म क्षेत्रमा बाघ निर्माताको रुपमा चिनिएका ओझाले भने, ‘मंगलममा आएर म सफल भएको छु । शनिबार सबै मल्टिप्लेक्स हाउसफूल भएका छन् । यसमा म खुसी छु ।’ हालसम्म निर्माता छविराज ओझाले बनाएका फिल्महरुमा ‘मंगलम’ पहिलो नम्वरमा पर्न आउने फिल्मकर्मीको भनाई छ ।