‘शत्रुगते’को प्रशंसा, दिपकदेखि प्रियंकासम्म सबै दंग
प्रतिक्षित फिल्म ‘शत्रुगते’ ले सार्वजनिक प्रदर्शनीमा प्रशंसा पाएको छ । वरिष्ठ तथा चल्तीका कमेडी कलाकार र युवा स्टारको अभिनय रहेको फिल्म हेर्ने दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।
मध्यान्ह् कमलपोरीस्थित कुमारी हलमा गरिएको प्रेश शोमा पनि ‘शत्रुगते’ को प्रशंसा गरियो । ‘फिल्मले हँसायो’, फिल्म हेरेर निस्किएका सञ्चारकर्मीले प्रतिक्रिया दिए । लामो समयपछि ठुलो पर्दामा देखिएका वरिष्ठ कलाकार हरिवंश आचार्यले सबैको मन जिते । मदनकृष्ण श्रेष्ठको फिल्ममा छोटो मिठो रोल छ ।
प्रेश शोमा दिपकराज गिरीले फिल्ममा निभाएको आफ्नो भूमिकालाई दर्शकले मन पराइदिएको खुसी व्यक्त गरे । ‘शत्रुगते’ मा उनलाई अनलाइन पत्रकारको भूमिकामा देख्न सकिन्छ । यता फिल्म हेरेर निस्किएपछि अभिनेत्रीद्वाय दिपाश्री निरौला र प्रियंका कार्की भावविहल बने । दुबैले हर्षको आँसु खसाले । फिल्ममा दिपा ‘हाउस वाइफ’ र प्रियंका प्रहरीको भूमिकामा प्रस्तुत भएकी छन् । प्रेश शोको भिडियो हेर्नुस् :
चारैतिर फिल्मको प्रशंसा भएपछि निर्देशक प्रदीप भट्टराई दंग छन् । ‘अपेक्षा गरे अनुसारकै प्रशंसा आइरहेको छ’, निर्देशक भट्टराईले भने । जात्रा पछि निर्देशक भट्टराईको यो दोश्रो फिल्म हो । गोपिकृष्णमा दर्शकले दिएको प्रतिक्रिया हेर्नुस् :
निर्माता किरण केसीले देशभर फिल्मको व्यापार राम्रो रहेको बताए । ‘कतिपय शोहरु हाउसफूल भएका छन् । सबैले राम्रो भनिरहनु भएको छ, हामी यसमै खुसी छौं’, निर्माता केसीले भने । उनी बिहानी शोमै नायक पल शाह र आँचल शर्माको जोडी लिएर गोपिकृष्ण हल पुगेका थिए ।