आक्रोशित अभयाले ‘द भ्वाइस’ टिमसँग मागिन् जवाफ
गत साता मात्रै ‘द भ्वाइस अफ नेपाल’ सिजन टुको आधिकारिक घोषणा गरिएको छ । पहिलो सिजनमा प्रमोद खरेल, अभया सुब्बा, सनुप पौडेल र दिप श्रेष्ठ कोच थिए । यो सिजनमा कोचमा फेरबदल गरिएको छ ।
यस सिजनमा प्रमोद खरेल र दिप श्रेष्ठले निरन्तरता पाएका छन् भने अभया र सनुप यो सिजनबाट बाहिरिएका छन् । यस सिजनमा पनि चार जना कोच रहनेछन् । उनीहरुको ठाउँमा राजु लामा र आस्था राउत भित्रिएका छन् । अभया र सनुपलाई द भ्वाइसबाट किन निकालियो भन्ने कुरा चर्चाको विषय बनेको छ । द भ्वाइसका निर्देशक लक्ष्मण पौडेलले एक अनलाइनसँग अभया ग्राण्ड फाइनलमा उपस्थित नहुँदा हेडक्वार्टरले असन्तुष्टि जनाएपछि हटाएको जवाफ दिएका थिए ।
निर्देशक पौडेलको कुरालाई खण्डन गर्दै गायिका अभया सुब्बाले आफ्नो ब्याण्डको आधिकारीक च्यानलमा आपत्ति जनाएकी छिन् । उनले भनिन्, ‘मैले ग्राण्ड फाइनलमा उपस्थित नहुने कुरा व्यवस्थापनलाई तीन महिना अगाडि नै जानकारी दिएको थिएँ । मेलवर्नमा कन्सर्टका लागि हाम्रो ब्याण्डलाई बोलाएको थियो । म आज जे छु यो ब्याण्डले गर्दा नै छु । म अभया मात्र नभएर एक ब्याण्डमा संग्लन भएको मान्छे हुँ । हाम्रो ब्याण्डमा ६ जना छौं । म ब्याण्ड अनुसार चल्नु पर्ने हुन्छ । द भ्वाइस नोबेम्बर मै सकिन्छ भनेको हुदाँ हामीले सेप्टेम्बरमा त्यो कन्र्सट फाइनल गरेका थियौ । तर द भ्वाइसको सिजन नसकिंदा के गर्ने भन्ने विषयमा शोको निर्देशक लक्षमण पौडेल, सुशिल नेपाल, प्रल्हाद महतसँग छलफल भएको थियो । उहाँहरुले हामी अभया उपस्थित हुन नसक्ने भनेर सानो भिडियो बनाएर हाल्छौं तपार्इं ढक्क भएर जानुस् भन्नु भएको थियो । मैंले भ्वाइसको टिमलाई भनेको हो तर उहाँहरुले हेडक्वार्टरलाई जनकारी दिनु भएनछ ।’
उनले भ्वाइसबाट निकाल्दा जुन कारण दिए त्यसमा आपत्ति जनाएकी छिन् । उनले भनिन, ‘उनीहरुले मलाई अब भ्वाइसमा रक म्युजिक चाहिँदैन भनेको भए हुन्थ्यो । त्यहाँ रक म्युजिक गर्ने कोही कोच नै छैन । भ्वाइसमा अंग्रेजी गीत गाउने पनि त्यति छैनन् । उहाँहरुले रक म्युजिक चाहिदैन भनेको भए मलाई केहि फरक पर्दैन थियो । भ्वाइस अफ नेपाल सही कारण देऊ ।’
उनले भ्वाइस अफ नेपालको व्यवस्थापन उचित भएको समेत खुलाएकी छिन् । उनले भनिन, ‘त्यहाँको व्यवस्थापन निकै तल्लो स्तरको छ । उनीहरुले मलाई कार्यक्रम मे महिनामा सुरु भएर नोबेम्बरमा सकिन्छ भनेको थियो । मेमा भएन, जुनमा पनि भएन । जुलाई ११ मेरो युरोप टुर थियो । युरोप जान टिकट, भिसा सबै मिलिसकेको थियो । त्यति नै बेला उनीहरुले मलाई युरोप जान नसक्ने बताए । त्यो मैले रद्द गरेर भ्वाइसमा बसेँ । त्यो कुरा उनीहरुले कहिले पनि गरेनन् ।’
उनले द भ्वाइसले हटाएको हल्ला सुने पनि आधिकारीक जानकारी दिन्छ भन्ने आश गरेको बताउँदै भनिन, ‘मैले द भ्वाइसबाट हटाएको हल्ला सुनेपछि सनुपलाई सोधेको थिएँ । उनले थाहा नभएको जवाफ दिएका थिए । त्यसपछि सुशिल पौडेललाई पनि सोधें, उनले पनि केहि थाहा नभएको बताए । द भ्वाइसले आधिकारिक जानकारी दिन्छ होला भन्ने आशा गरेको थिएँ तर जनकारी बिना नयाँ कोच राख्नु भएछ । मलाई आस्था र राजुसँग केहि समस्या छैन । तर जानकारी नदिई निकाल्दा अपमान गरेका महसुस गरेको छु ।’