दशैंमा आउनेगरी ‘माइतीघर’ बनाउँदै रोहित अधिकारी
निर्माता रोहित अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । आउँदो सालको दशैंमा प्रदर्शन गर्ने गरी निर्माता अधिकारीले सोमबार ‘माइतीघर’ फिल्म बनाउने घोषणा गरेका हुन् ।
सोमबार फिल्मको लोगो सार्वजनिक गर्दै उनले यो सोसल ड्रामा फिल्मलाई आउँदो दशैंमा प्रदर्शन गर्ने जनाएका हुन् । मिलन तामाङको डेब्यु निर्देशन रहने फिल्मको पटकथा ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले लेखेका हुन् । निर्देशक तामाङले फिल्मको औपचारिक अध्ययन सकेर निर्देशनमा होमिन लागेका हुन् ।
फिल्ममा अहिले चलेका स्टारलाई कास्ट गर्ने जानकारी निर्माता अधिकारीले दिए । केही सातामा कलाकारको टुंगो लाग्ने र फागुन वा चैतदेखि छायांकनमा जाने तयारी छ । फिल्मले विवाहपछि छोरीले माइतीघर छाडेर जानुपर्ने विवशता र यसको आयामलाई प्रस्तुत गर्ने जनाइएको छ ।
‘समसामयिक कथावस्तु भएकाले पनि यसलाई दशैंमा ल्याउन लागेका हौं’ निर्माता अधिकारीले भने, ‘महिलाप्रधान भएकाले यसले सामाजिक सन्दर्भ र संवेदनालाई चित्रण गर्नेछ ।’ यो मल्टिस्टारर फिल्मको स्क्रिप्ट सुहाउने भएकाले ‘माइतीघर’ नाम राखिएको उनले जनाए ।
रोहित अधिकारी फिल्म्सको ब्यानरमा यसअघि ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ निर्माण भैसकेका छन् । ‘फर्की फर्की’को सफलता पश्चात् रोहित ‘माइतीघर’ निर्माणमा लागेका हुन्।