आसाममा गुञ्जिए गायक प्रमोद खरेल
बाह्र दिने डाइजिङ फेस्टिवलको अन्तिम दिन जनवरी ७ मंगलबार आसाम बगाँइगाव चिरांगमा गायक प्रमोद खरेलले आफ्नो विशेष साँगीतिक प्रस्तुति दिए । एसियाका विभिन्न कलाकार, सहित बलिवडका मिका सिंह, विशाल शेखर, निति मोहनले प्रस्तुति दिएको उक्त कन्सर्टमा नेपालबाट गायक प्रमोद खरेललाइ निम्तो थियो ।
आफ्नो ब्यान्ड सहित गायिका मिना निरौलालाई लिएर स्टेज उत्रिएका प्रमोदले करिब २ घण्टा आफ्नो प्रस्तुति दिए । प्रमोद र मिनाले प्रस्तुती दिइरहंदा दर्शकदिर्घाबाट हुटिङ र वान्समोर आएको थियो ।
बेला बेला आसामीज भाषामै सम्वोधन गर्दै २ वटा आसामीज गीत समेत गाउँदा माहौल झन रोमान्चक बन्न पुगेको थियो । पुराना नेपाली हिट गीतहरुसँग बोडो गीत बागुरुम्बा फ्युजन गरेर गाउँदा दर्शक उत्साहित बनेका थिए । आसामीज मैं मेरो मामा घर आसाम भनेर सुनाउँदा दर्शकले भान्जा भान्जा भन्दै हुटिंग गरेका थिए । दर्शकलाई भ्रमण बर्ष २०२० मा नेपाल आउन अनुरोध गर्दै आयोजक सदस्यलाई स्टेजमा नेपाली ढाका टोपी लगाइदिएर प्रमोद नेपाल भ्रमणको निम्ता समेत दिए ।
प्रमोदले म बिना, झुम्कावाली, हंगामा भो लगायतका हिट नम्बर सुनाउँदा यो कुरा गोप्य दोहोर्याएर गाए । कार्यक्रममा मिनाले प्रमोद सँग पुराना युगल गीतमा साथ दिदै काले दाइ सुनाइन् ।
बोडोलैंड पर्यटन बोर्ड तथा डाइजिंग फेस्टिभल बोर्डको आयोजनामा भएको उक्त कार्यक्रमको नेपाल संयोजन कृष्ण शर्माले गरेका थिए । ‘दि भ्वइस अफ नेपाल’को दुई संस्करणका कोच प्रमोद देश तथा विदेशमा हुने स्टेज कार्यक्रम र मेला तथा महोत्सवमा निकै व्यस्त छन् ।