दीपक मनाङ्गेले ‘कंगारु’ बनाउने, सम्राटले निर्देशन गर्ने
निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘कंगारु’ निर्देशन गर्ने भएका छन् । उनले यस अगाडी फिल्म ‘लाखे’ फिल्म निर्देशन गरेका थिए ।
राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’ एक्सन जनरामा आधारित थियो । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।
फिल्मको सह-निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको यो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलिया) रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स(यूके)ले पनि सहकार्य गरेको छ ।
फिल्मको बिषयमा निर्देशक बस्नेत भन्छन्-‘मैंले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । यसपछि, केही फरक कथा भन्न मन लागेको थियो । यसैले, कंगारुका लागी हामीले स्क्रिप्टमा मात्र २ बर्ष समय लगाएका छौं । दर्शकले, यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ ।’
फिल्मका लागि विभिन्न कलाकारहरुसँग कुराकानी भएको र चाडै नै फाइनल गर्ने निर्माण पक्षले बताएको छ । यो फिल्मको छायांकन फागुणदेखि सुरु हुनेछ ।