दिपेन्द्रको ‘मेयर’ मुर्हत : खगेन्द्रको जोडी बन्दै बर्षा
दीपेन्द्र के खनालको निर्देशन गर्ने नयाँ फिल्म ‘मेयर’को बुधबार मुर्हत गरिएको छ । दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा फिल्मको मुर्हत गरिएको हो ।
मुर्हत समारोहमा निर्मात्री शर्मिला पाण्डेले क्ल्याप हानिन् भने फिल्मका शीर्ष अभिनेता खगेन्द्र लामिछानेले नरिवल फुटाए । फिल्म मेयर सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवनमा आधारित हुनेछ । थापाको भूमिकामा अभिनेता लामिछानेले अभिनय गर्नेछन् भने अभिनेत्री वर्षा राउत लामिछानेको जोडी बन्नेछिन् ।
फिल्ममा खगेन्द्र र वर्षा सँगै अर्पण थापा, अनुप बराल, दिव्यदेब, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मबाट निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनालले निर्माताका रुपमा र अर्विशाले कलाकारका रुपमा डेब्यू गर्दैछिन् । अर्विशा मेयर भरत थापाकी छोरी हुन् ।
फिल्ममा शर्मिला पाण्डेको समेत निर्माण रहनेछ भने संगीत जे वाइवा र कल्याण सिंहको रहनेछ । महेश दवाडीको पटकथा रहेको फिल्मलाई कृष्ण थापाले छायाँकन गर्नेछन् । फिल्मको छायाँकन फागुन १२ गतेबाट सुरु हुने जनाइएको छ ।