‘पूर्ण बहादुरको सारङ्गी’को २० करोड कमाई, रेकर्ड बनाउने दौड
बिजय बराल स्टारर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले आक्रमक कमाइ जारी राखेको छ । फिल्मले प्रदर्शनको एघार दिनसम्म २० करोडको व्यापार गर्न सफल भएको छ ।
जसअनुसार आइतबार (२५ कात्तिक)सम्म फिल्मको कमाइ २० करोड ७३ लाख ग्रस छ । फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख ग्रस कमाएको छ । यो कुल कलेक्सन साढे १७ करोड नेट हो । यसबाट निर्मातालाई साढे ८ करोड सेयर प्राप्त हुन्छ । वितरक मनोज राठीका अनुसार मुलुकका १०० भन्दा हल र ४५० भन्दा बढी शोबाट यो कलेक्सन प्राप्त भएको हो ।
यही लयमा दर्शकलाई तानी रह्यो भने ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाइको रेकर्ड राख्ने अपेक्षा छ । धेरै कमाउने नेपाली फिल्मको रेकर्ड ‘कबड्डी ४’ सँग छ, जसको कलेक्सन २३ करोड ५० लाखको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा बिजयसँगै अञ्जना बराइली, मुकुन भुषाल, बुद्धी तामाङ, स्वयम केसी र प्रकाश सपुत लगायत अन्य कलाकारहरुको अभिनय छ ।
फिल्म निर्माणमा विनोद पौडेल र प्याट्रिक सुवेदीले सहकार्य गरेका छन् । फिल्ममा पटकथा र संवाद महेश दवाडीको छ ।