पुर्वी हलका दर्शक भेट्न उड्यो ‘डिग्री माइला’ टिम
फिल्म ‘डिग्री माइला’ कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिममा मोफसल यात्रामा निस्केको छ । कोशी प्रदेशको राजाधानीका दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन मंगलबार त्यसतर्फ उडेको हो ।
बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माता मणिराम पोखरेलले बताए । कार्यकारी निर्माता पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११ः३० को शोमा सिनेमा हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछौं यसक्रममा उनीहरु विराटनगरका, विभिन्न सिनेमा हलमा पुग्नेछन् ।
बिराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।
निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।
तेश्रो दिनमा सिनेमाले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।